हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगर लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। ईमानदार, कर्मठ र सादगी नेताका रूपमा परिचित रानाको उम्मेदवारीपछि एमालेका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्।
राना २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापतिमा निर्वाचित हुँदा गरेका विकासमुखी कामहरू आज पनि जनतामाझ स्मरणीय रहेको बताइन्छ। उनको कार्यकालमा चुरे संरक्षण, सडक सञ्जाल विस्तार तथा मकवानपुरको एकीकृत विकासको अवधारणा अघि बढाइएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भए पनि रानाले त्यसयता पार्टीको जिम्मेवारीबाट कहिल्यै पछि नहटेको एमाले स्रोतको भनाइ छ। एकीकृत नेकपा माओवादीसँगको एकताका समय तथा अघिल्लो निर्वाचनमा सूर्य चिन्हबाट कमल थापा उम्मेदवार बनेपछि उनले अन्तिम समयमा निर्वाचन लड्ने अवसर गुमाएका थिए।
रानाको राजनीतिक यात्रा २०३६ सालको आन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीबाट सुरु भएको हो। २०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बने। त्यसपछि हेटौँडा नगर कमिटी हुँदै एमाले मकवानपुर जिल्ला कमिटी सदस्यको भूमिकामा पुगे।
२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल जिल्ला नेतृत्वको जिम्मेवारी सम्हालेका छन्। बागमती प्रदेश कमिटी सदस्य हुँदै चार कार्यकाल केन्द्रीय सदस्यका रूपमा काम गरेका उनी एमालेको ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

स्थानीय तहमा पनि सक्रिय भूमिका निर्वाह गरेका रानाले २०४९ सालमा हेटौँडा नगरपालिका–११ का वडा अध्यक्ष तथा २०५४ सालमा जिल्ला विकास समिति सभापतिका रूपमा काम गरेका थिए। विकास अध्ययनका क्रममा उनले चीन, भारत र बंगलादेशलगायत देशहरूको भ्रमणसमेत गरेका छन्।
उनको सादगीपन, अनुभव र निरन्तर राजनीतिक योगदानलाई मकवानपुर–१ का मतदाताले सकारात्मक रूपमा लिएको र यसले पार्टीको चुनावी अभियानलाई थप ऊर्जा दिएको एमालेले जनाएको छ।
